२८ असोज, काठमाडौं । भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरुभित्र चर्को बहस सुरु भइसकेको छ । नयाँ संविधान बमोजिम डा. रामवरण यादवको ठाउँमा दशैंपछि नयाँ राष्ट्रपतिको चयन हुँदै छ ।
राजनीतिक दलभित्र मात्र नभएर नयाँ राष्ट्रपतिको विषयमा बाहिर पनि चासो कम छैन । फलानो भए राम्रो र ढिस्कानो भए खत्तम हुन्छ भन्दै चिया पसलहरुमा गफको तुफान सिर्जना हुने गरेको छ । यसैक्रममा हामीले फरक-फरक क्षेत्रको प्रतिनिधित्व गर्ने ५ व्यक्तिलाई सोध्यौं, ‘भावी राष्ट्रपतिमा कसलाई हेर्न चाहनुहुन्छ ?’ उनीहरुले दिएको जवाफ यस्तो छ :
अहिलेका सन्दर्भमा सिंगो नेपाललाई समेटेर लैजान सक्ने व्यक्तित्व चाहिन्छ । त्यस्तो साझा व्यक्ति होस जोप्रति हिमाल तराई पहाड सबै क्षेत्रका नेपालीहरुले गर्व गर्न सकुन् । यो हाम्रो होइन, फलानोको हो भन्ने स्थिति नहोस् । यो मेरो होइन भन्ने नहोस् । नयाँ संविधानमा राष्ट्रपतिको सेरेमोनियल रोल हुन्छ । तर, पनि त्यो पदको विशिष्ट महत्व हुन्छ ।
उदाहरणका लागि हाम्रो परिवारमा हजुरबुबा-हजुरआमाको कति महत्व हुन्छ ? उहाँहरु काम गर्नुहुन्न, पैसा पनि कमाउनुहुन्न, तर घरको अभिभावकका रुपमा सबैले उहाँहरुको आदर गर्छन् । सबैले उहाँहरुबाट टीका थाप्छन् । अहिले विद्या भण्डारीको नाम अगाडि आइरहेको छ । मेरो विचारमा उहाँलाई राष्ट्रपति बनाउँदा नयाँ सन्देश जान्छ । लैंगिक समानतामा नेपालले छलाङ मारेको मानिन्छ । देशको आधा जनसंख्यालाई त्यसले हौसला प्रदान गर्छ ।
लालबाबुलाई बनाए हुन्छ
दीपकराज गिरी, हास्य कलाकार
दीपकराज गिरी, हास्य कलाकार
संविधानअनुसार राष्ट्रपति पद कार्यकारी होइन । आलंकारी पद भएकाले यसमा महिला वा पिछडा वर्गको नेतृत्व गर्ने व्यक्तिलाई छनोट गर्दा राम्रो हुन्छ । तर, राष्ट्रपति हुनका लागि अरु धेरै पक्षहरु विचार गर्नुपर्छ ।
उसको व्यक्तित्व यस्तो होस् कि हामीलाई आफ्नो राष्ट्रपति भन्न पाउँदा गर्व लागोस् । यदि सम्भव हुने हो भने म त पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई राष्ट्रपति बनाइदिए हुन्छ भन्छु ।
अहिले सुवास नेम्वाङ र विद्या भण्डारीको नाम चर्चामा सुनेको छु । उहाँहरु पनि योग्य पात्र नै हो । सुभास नेम्वाङले संविधानसभाको नेतृत्व गरेर संविधान निर्माणमा अहम् भूमिका खेल्नुभयो । विद्या भण्डारीलाई बनाउँदा अझै राम्रो हुन्छ । किनभने उहाँले महिलाको प्रतिनिधित्व गर्नुहुन्छ उहाँ मदन भण्डारीकी पत्नी पनि हुनुहुन्छ ।
महिला वा दलितको पक्षमा छु
नयनराज पाण्डे, साहित्यकार
नयनराज पाण्डे, साहित्यकार
मलाई संविधान घोषणापछिको पहिलो राष्ट्रपतिमा महिला वा दलित वर्गबाट प्रतिनिधित्व गर्ने व्यक्ति भए हुन्थ्यो भन्ने लाग्छ । दलित महिला भए अझै राम्रो । त्यस्तो भयो भने गणतान्त्रिक संविधानको सार्थकता सुरुबाटै देखिन थाल्थ्यो । यद्यपि दलित वा महिला मात्रै भएर पनि पुग्दैन । मूलतः पहिले विवादमा नआएको स्वच्छ छविको व्यक्तित्व हुनुपर्यो ।
राजनीतिक पार्टीभित्रकै हुनुपर्छ भन्ने छैन । यदि मिल्छ भने राजनीति बाहिरको राष्ट्रिय व्यक्तित्व ल्याउँदा झनै राम्रो हुन्छ । सक्रिय राजनीतिभन्दा सामाजिक अभियन्ताका रुपमा भूमिका खेलेको मान्छेले सबैलाई समेट्न सक्छ । अहिले विद्या भण्डारीको नाम चर्चामा आएको छ ।
तर, मेरो विचारमा उहाँको विकल्पमा अरु नामहरुमाथि पनि छलफल गर्नुपर्छ । किनभने उहाँलाई अरुले एमालेको राष्ट्रपति भनेर चिन्ने स्थिति आउन सक्छ ।
तानाशाह टाइपको चाहिन्छ
सुभास खकुरेल, क्रिकेट खेलाडी
सुभास खकुरेल, क्रिकेट खेलाडी
मलाई त यो आवस्, त्यो आवस्, भन्ने छैन, जो आए पनि हुन्छ । राम्रो मान्छे आउनुपर्यो । सक्षम नेतृत्वको अभावमा हामीले आज यति दुख झेलिरहेका छौं । राष्ट्रपतिलाई धेरै पावर नभए पनि देशलाई संकट परेका बेला अभिभावकका रुपमा उसले धेरै ठूलो भूमिका खेल्न सक्छ ।
म त चाहन्छु, अब बन्न राष्ट्रपति थोरबहुत तानाशाही प्रकृतिको होस् । तपाईंले विकसित देशको इतिहास हेर्नुभयो भने कुनै न कुनै समय तानाशाहले शासन गरेको पाइन्छ ।
नेपाललाई पनि त्यस्तो तानाशाह चाहिएको छ । मैले लालबाबु पण्डित भन्ने मन्त्रीको नाम धेरै सुनेको छु, त्यस्तैखालको इमान्दारिता पनि खोज्नुपर्छ ।
जो आए पनि हुन्छ
पशुपति शर्मा, गायक
पशुपति शर्मा, गायक
प्रधानमन्त्रीको विषयमा सोधेको भए म गज्जब उत्तर दिन्थेँ । राष्ट्रपति भनेको त थपना मात्रै न हो । कार्यकारी राष्ट्रपति भए पो यस्तो होस्, त्यस्तो होस् भन्नु । तैपनि यति भन्न चाहन्छु, सकभर राम्रो मान्छे होस् ।
परिस्थितिलाई ह्याण्डल गर्न सक्ने क्षमता भएको होस् । महिला भएदेखि राम्रो । तर, महिला नै हुनुपर्छ भन्ने पनि छैन ।
जातीय हिसाबले भन्दा पनि योग्य व्यक्ति ठाउँमा पुग्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले चर्चामा आइरहेका नामहरुको विषयमा मेरो कुनै प्रतिक्रिया छैन ।
Source: www.onlinekhabar.com
Source: www.onlinekhabar.com
No comments:
Post a Comment