८ असोज, काठमाडौं । ‘राष्ट्रवादी’ छवि बनाएको ओली सरकारका परराष्ट्रमन्त्री कमल थापाले छिमेकी भारतले नाकाबन्दी गरेको भन्न अस्वीकार गरेका छन् । उनले वीरगञ्ज बाहेकका सीमा नाकामा सहजता देखिएको भन्दै भारतलाई ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिने बताए ।
आफ्नो भारत भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यातायात पारवहन क्षेत्रमा भएको असहज परिस्थिति र मधेस केन्दि्रत दलको आन्दोलनका कारण इन्धनको अभाव भएको बताए । तर, उनले नाकाबन्दी भन्न अस्वीकार गरे ।
यसअघि सुशील कोइराला सरकारले पनि नाकाबन्दी भन्न र त्यसलाई अन्तराष्ट्रीयकरण गर्न सकेको थिएन । जसको चौतर्फी आलोचना भएको थियो ।
भारतले नाकाबन्दी गरेको हो कि होइन ? नाकाबन्दी हो भने सरकारले अन्तराष्ट्रीयकरण गर्छ कि गर्दैन भन्ने पत्रकारहरुको प्रश्नमा परराष्ट्रमन्त्री थापाले प्रष्ट जवाफ दिएनन् ।
उनले वीरगञ्ज बाहेकका नाकामा खुकुलो भएको तर, आयातमा निरन्तरता नभएको बताए । रक्सौल बाहेक अन्य नाकाहरुमा खुकुलो रहेको भन्दै थापाले भने- ‘तर, पर्याप्त बुलेट, ट्यांकरहरुको अभाव छ, लोड-अनलोडका पनि केही समस्या देखा परेका छन् । त्यसले पनि हुन सक्छ, त्यसैले अहिले केही आशंका नगरी बेनिफिट अफ डाउट दिएर हेरौं न ।’
तर, प्रधानमन्त्री ओलीले विहीबार अपरान्ह व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा भने ‘अघोषित नाकाबन्दीप्रति हामी गम्भीर छौं’ भन्दै नाकाबन्दी शब्दको उच्चारण गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको अधिकार सुनिश्चित हुनुपर्ने प्रधानमन्त्रीले बताए ।
परराष्ट्रमन्त्री शनिबार भारत जाने
परराष्ट्रमन्त्री थापा नेतृत्वको उच्चस्तरीय टोली शनिबार भारत जाने कार्यक्रम छ । भारतीय समकक्षी सुष्मा स्वराजको निम्तोमा दिल्ली जान लागेका थापाले गर्ने अन्य राजनीतिक भेटबारे अहिले केही खुलाइएको छैन ।
थापाको दिल्ली भ्रमणबारे एमाले स्थायी कमिटीको बैठकमा जानकारी दिँदै विहीबार प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्रीलाई आपूर्तिको वातावरण सहज बनाउन दिल्ली पठाउन लागिएको बताए ।
मन्त्री थापाले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिल्ली भ्रमणबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री स्वराजसँगको भेटका लागि आफू उत्सुक रहेको पत्रकार सम्मेलनमा बताए । उनले भने- दुई देशका सम्वन्धका विविध पक्षमा कुरा हुुन्छ, त्यस क्रममा आपूर्ति समस्या समाधान गर्न भारत सरकारसँग सहयोग खोज्छौं ।’
ओली सरकारले भारत सरकारसँग अहिले देखिएको तिक्तता अस्थायी भएको बताएको छ । साथै तराई मधेसमा भइरहेको आन्दोलनलाई राजनीतिक समस्याको रुपमा लिएर समाधान खोज्ने समेत बताएको छ ।
#Source: onlinekhabar.com
No comments:
Post a Comment