Social Icons

Pages

Thursday, January 23, 2014

सुनले बढायो डलरको कालोबजारी....................


काठमाडौ, माघ ९ - सुन तस्करीका कारण अमेरिकी डलरको कालोबजारी अकासिएको छ । अवैध रूपमा सुन आयात गर्न कारोबजारीले अनौपचारिक बजारबाट किन्ने भएकाले डलरको भाउ बढाएको हो ।
केही समयदेखि डलर विनिमय दर ९८ र ९९ रुपैयाँ हाराहारीमा रहे पनि अनौपचारिक बजारमा १ सय ७ पुगेको हो । भटाभट सुन बरामद हुन थालेपछि फेरि डलरको अनौपचारिक भाउ १ सय ५ मा झरेको छ । 'अन्तर्राष्ट्रिय बजार, सुन र डलरको अन्तरसम्बन्ध हुन्छ । सुन तस्करीको पछिल्लो अवस्था थाहा पाउन हुन्डीमा चलिरहेको डलरको भाउ र बैंकको विनिमय दर हेरे पुग्छ,' एक व्यवसायीले भने । सुन तस्करीको स्वर्ण काल मानिने २०५४/५५ सालमा डलर पि्रमियम १० रुपैयाँसम्म बढेको थियो । 'डलरको भाउ घटेपछि सुनका लागि पैसा पठाउने क्रम रोकियो वा घट्यो भन्ने बुझ्नपर्छ,' तिनले भने, 'भाउ बढे पठाउने क्रम सुरु भएछ भन्ने बुझिन्छ ।'
माघ १ गते तातोपानी भन्सारमा ८ किलो सुन बरामद भएको थियो । फ्लाई दुबईबाट काठमाडौं झरेका भारतीय नागरिक विक्रमकुमार विसनदास चैत्रामणि शुक्रबार २ किलो ६ सय ९९ ग्राम सुनसहित पक्राउ परे । श्रीमती, छोरी, भाञ्जी र नाता पर्ने अर्की महिलाको ब्राभित्र लुकाएर ल्याएका सिन्धुपाल्चोक माङखा-५ का धनबहादुर लामाको ६ सय ३७ ग्राम सुन भक्तपुर प्रहरीले शनिबार बरामद गर्‍यो । 'एयरपोर्ट र तातोपानी दुवैतिरबाट भित्रिएका सुन बरामद भएपछि कारोबारी केही समय पर्ख र हेरको अवस्थामा छन्,' ती व्यवसायीले भने, 'केही दिनपछि फेरि डलर पि्रमियम बढ्छ ।'
अवैध रूपमा सुन भित्र्याउन बैंकमार्फत सटही नपाइने भएकाले कारोबारीले अनौपचारिक बजारबाट डलर उठाउँछन् । व्यवसायीका अनुसार विमानस्थलमार्फत भित्रिने सुनका लागि कारोबारीले हुन्डीमार्फत पैसा पठाइरहेछन् । तातोपानीमार्फत भित्रिने सुनका लागि डलर बोकेर पारि भुक्तानी गरिन्छ । हुन्डीमार्फत पठाउँदा हुन्डीवालाले यहाँ नेपाली रुपैयाँ बुझेर सुन खरिद हुने ठाउँमा त्यहींको विनिमयमा भुक्तानी गर्छन् ।
तर नेपाली रुपैयाँ सटही गरी डलर बनाउन तिनले महँगो मोलमा डलर खरिद गर्छन् ।
बजारमा सुन तस्करी भइरहेको थाहा पाउन सजिलो छ । भारुको आपूर्ति सहज हुन्छ, डलरको पि्रमियम बढ्छ । भारतमा तस्करी गरिएको सुनको भुक्तानी भारुमा हुने भएकाले बजारमा भारु आपूर्ति हुन्छ । गएको कात्तिकदेखि अनौपचारिक बजारमा भारु सटही गर्दा लाग्ने पि्रमियम हटेको थियो । सय भारु सटही गर्दा १ सय ६७ रुपैयाँ तिर्नुपथ्र्यो ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भारु आपूर्ति केही सहज भए पनि जुन परिमाणमा सुन तस्करी भएको सुनिँदैछ, त्यसअनुरूप भारु नआएको बताए । 'बेच्ने चिनियाँ, किन्ने भारतीय र बिचौलिया मात्र नेपाली भएकाले यस्तो भएको हुनसक्छ,' उनको अनुमान छ ।
सुनको अवैध आयात बढेका बेला डलरको अनौपचारिक कारोबार वृद्धि भई रेमिट्यान्स घट्ने गरेको राष्ट्र बैंकका पूर्वकामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । हुन्डीमा डलरको भाउ उच्च भएका कारण बैंकिङ च्यानलबाट भित्रिँदै आएको रेमिट्यान्स क्रमशः घट्दै जाने र नेपाली कामदारको कमाइ हुन्डीतिर सोझिन्छ । डलरको 'पि्रमियम' बढी भएपछि पर्यटनलगायत क्षेत्रबाट प्राप्त हुने डलर पनि बैंकिङ च्यानलमा नआई अनौपचारिक क्षेत्रमै जाने गर्छ ।
मानन्धर सुनको आयात नियन्त्रण गरेर मुलुकलाई फाइदा नहुने बताउँछन् । उनका अनुसार कोटा लगाउँदा बंैकिङ च्यानलमार्फत बाहिरिने डलरको अंक त घट्छ । तर अनौपचारिक रूपमा बाहिरिइहाल्छ । यसरी अवैध रूपमा सुन भित्रिँदा सरकारले राजस्व पनि गुमाउँछ । भारतमा तस्करी गर्दा फाइदा हुने भएपछि कारोबारीले रेमिट्यान्स नै डाइभर्ट गरी डलर प्राप्त गरिछाड्ने उनले बताए ।
कारोबारीले रेमिट्यान्स आउने मुलुकमै पनि विदेशी विनिमय नियन्त्रण गरिदिने हैसियत राख्छन् । केहीअघि दक्षिण कोरियामा कामदारको कमाइ क्यापिटल मर्चेन्ट बैंक ठगी गरी अमेरिका फरार भएका पवन कार्कीले हङकङ हँुदै अमेरिका पुर्‍याउने गरेको अर्थ मन्त्रालयको टोलीले पत्ता लगाएको थियो । भित्रिसकेको रेमिट्यान्स पनि रेमिट्यान्स कम्पनीलाई नै मिलाएर हात पार्न सजिलो भएको उनले बताए । 'रेमिट्यान्स कम्पनीमा सर्भिलेन्स छैन,' उनले भने, 'आएको रेमिट्यान्स कालोबजारमा बिक्री गरी केही रकम राष्ट्र बैंकलाई देखाइदिए भइहाल्यो ।' बरु आयात खुला गरिदिए राजस्व आउने उनले बताए ।
भारतले सुनको बढ्दो आयातका कारण भुक्तानी सन्तुलन नकारात्मक भएपछि सुन आयात कडाइ गरेको हो । चुनावमार्फत केन्द्रमा नयाँ नआएसम्म भारतले सुन आयात खुकुलो गर्ने सम्भावना नभएको मानन्धर बताउँछन् । भारतले आयातमा कडाइ गरुन्जेल नेपाल सुन तस्करीको ट्रान्जित भइरहन्छ । 'यसैले अनौपचारिक च्यानलबाट सुनका लागि डलर जान दिनुभन्दा बरु आयात खुला गरिदिए बेस,' उनको सुझाव छ ।  
यताबाट डलर, उताबाट सुन
काठमाडौं- सुन तस्करीमा पक्राउ परेका सिन्धुपाल्चोक माङखा-५ का धनबहादुर लामाले 'डलर लैजाने र सुन ल्याउने' गरेको रहस्य खुलेको छ । महिला प्रयोग गरेर अवैध धन्दा गर्दै आएका उनीसहितलाई भक्तपुर प्रहरीले शनिबार पक्राउ गरेपछि यो थाहा भएको हो । उनकी श्रीमती तुलीमाया, छोरी भावना र भान्जी नाता पर्ने उर्मिला तामाङ उनीसँगै समातिएका थिए । यसबाहेक उनले इलाम चमैता-६ की ३० वर्षीया बन्दना राईलाई पनि प्रयोग गरेका थिए ।
राजस्व अनुसन्धान विभागले माग गरेको २९ लाख ६० हजार धरौटी बुझाएर उनीहरू छुटिसकेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी जगतमान श्रेष्ठका अनुसार काठमाडौंबाट खासा जाँदा पनि महिला प्रयोग गरेर जडीबुटी, विदेशी मुद्रा लैजाने र र्फकंदा सुन ल्याउने गरेको सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । खानतलासी गर्दा महिलाहरूको ब्रामा लुकाइएका ७ वटा सिक्री बरामद भएका थिए ।


प्रकाशित मिति: २०७० माघ ९ ०९:२२ 

No comments:

 
Blogger Templates