काठमाडौ, श्रावण १७ - 
नेपाल आईसीसी यू-१९ विश्वकप छनोटको नजिक पुगेको छ । त्यसका लागि उसले बुधबार क्यानडामाथि जित हात पार्नु पर्नेछ । क्यानडाविरुद्धको जितले सन् २०१२ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने युवा विश्वकपको ढोका लगभग खुल्नेछ । 
चार खेलमध्ये तीनमा जित हात पारेको नेपालको अब छनोट नहुने सम्भावना लगभग गणितीय हुनेछ । राउन्ड रोविन लिगमा नेपाल ६ अंकसहित नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ । 'हामी अन्तिमसम्म यो शीर्षतालाई कायम राख्न चाहन्छौं,' नेपाली प्रशिक्षक जगट टमटाले भने । 
उनले नेपाली टिममा क्रमिक सुधार भइरहेको र अन्य खेलमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरे । समूहको पहिलो खेलमा परम्परागत प्रतिद्वन्दी अफगानिस्तानलाई हराएको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग भने पराजित भएको थियो । 
त्यसपछि आफूलाई सम्हालेको नेपालले केन्या र भानुआतुमाथि लगातार जित हात पारेको छ । 'पहिलाभन्दा हाम्रो खेलमा सुधार भइरहेको छ, ब्याटिङ-लाइन पनि राम्रै भएको छ,' टमाटाले भने, 'पहिलो तीन खेलमा सामान्य प्रदर्शन गरेका नरेश र सुवासले भानुआतुवविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।'
उनले यो राम्रो लक्षण भएको बताए । उनले खेलाडीमा आत्मविश्वासको विकास भएको र सहभागी सबै टिमलाई हराउन सक्ने विश्वास व्यक्त गरे । 
उनले 'ह्यामस्टि्रङ' का कारण भानुआतुविरुद्धको खेल गुमाएका प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले क्यानडाविरुद्ध खेल्न सक्ने बताए । 
'नयाँ स्थानमा खेल्न जाँदै छौं, त्यहाँको मैदानको बारेमा धेरै जानकारी छैन,' उनले भने, 'क्यानडा पनि नेपालकै स्तरको रहेको धारणा राखे । क्यानडाले चारमध्ये दुई खेलमा मात्र जित हात पारेको छ । स्कटल्यान्ड र भानुआतुलाई हराएको उसले केन्या र नामिबियासँग भने हार बेहोरेको थियो । 
दक्षिण एसियामा सम्पन्न आईसीसी विश्वकपको अनुभव बटुलेका नितिन कुमारले क्यानडाको युवा टिमबाट पनि प्रतिनिधित्व गर्दै छन् । उमेर समूहमा नेपाल र क्यानडा यस अघि सन् २००२ मा न्युुजिल्यान्डमा सम्पन्न आईसीसी यू-१९ विश्वकपमा आमनेसामने भएका थिए । 
प्लेट च्याम्पियनसिपको समूहमा नेपाल ९ विकेटले विजयी भएको थियो । प्रतियोगितामा बुधबार नेपाल र केन्याबाहेक आयरल्यान्ड र भानुआतु, नामिबिया र अफगानिस्तान, केन्या र पपुवा न्युगिनी तथा स्कटल्यान्ड र अमेरिका भिड्नेछन् ।
अंक तालिका
    टिम    खेल    जित    हार    अंक    नेट रनरेट
    नेपाल    ४    ३    १    ६        १.३३१
    नामिबिया    ४    ३    १    ६        ०.९१०
    स्कटल्यान्ड    ४    ३    १    ६        ०.४०५
    आयरल्यान्ड    ४    ३    १    ६        ०.०६४
    क्यानडा    ४    २    २    ४        ०.५५३
    अमेरिका    ४    २    २    ४        ०.२२३
    केन्या    ४    २    २    ४        ०.०८८
    अफगानिस्तान    ४    १    ३    २        -०.०८७
    पपुवा न्युगिनी    ४    १    ३    २        -०.७९०
    भानुआतु    ४    ०    ४    ०        -३.०१३
प्रकाशित मिति: २०६८ श्रावण १८ १०:१०